
काठमाडौं– छोरीलाई लोक सेवा आयोगको परीक्षामा पास गराउन उत्तरपुस्तिका सच्याउने तथा आफैं उत्तर लेख्ने लोक सेवा आयोगका अधिकृतलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले मंगलबार लोक सेवा आयोगका अधिकृत मिमबहादुर शाहीलाई दोषी ठहर गर्दै ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।
न्यायाधीशहरु यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आफैं लोक सेवा आयोगको कार्यालयमा कार्यरत रहेका अधिकृतले आफ्नो छोरीका लागि गरेको उक्त कार्य अक्षम्य भएको भन्दै उनलाई दोषी ठहर गरेको हो। निष्पक्षता कायम गर्नुपर्ने जिम्मेवारी र शपथ लिएको व्यक्तिले आफ्नो परिवारको सदस्य सहभागी भएको परीक्षामा जोडिन समेत नमिल्ने अवस्थामा उनले परीक्षाको उत्तरपुस्तिका नै फरक हुने गरी लेखेको कार्य भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य भएको फैसलामा उल्लेख छ।
नेपाल वायु सेवा निगमको खुला समावेशीतर्फको परीक्षामा सहभागी छोरीलाई सहायक चौथो पदको परीक्षामा सहभागी गराइ सफल गराउने नियतले शाहीले उत्तरपुस्तिका सच्याएका भेटिएको थियो।
लोक सेवाअन्तर्गत सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाका अधिकृत शाहीले २०७६ जेठ ११ गते नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेका थिए।
छोरीको उत्तरपुस्तिकामा बाबुले उत्तर लेखेको सुचना लिक भएपछि आयोगले उनलाई निलम्वन गर्दै कारबाही समेत गरेको थियो। परिक्षमा सहभागी उनकी छोरीको उत्तरपुस्तिका रद्द गरिएको थियो।
आयोगले रोल नम्बर ३२९८ भएकी ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो। त्यसपछि अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन सुरु गरेको थियो।
अख्तियारले २०७८ वैशाख ८ गते शाहीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। प्रश्नपत्रको गोपनियता भङ्ग गरेको र झुट्टा विवरण पेस देखिएको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
छोरी पास गराउन शाहीले जे गरे
छोरी नेपाल वायुसेवा निगमको परिक्षामा सहभागी भएपछि जसरी पनि पास गराउन भन्दै शाही आफैं सक्रिय भएर लागेका थिए। अधिकृत शाहीले वस्तुगत परीक्षाको उत्तरपुस्तिकामा ५० वटै प्रश्नका उत्तर ‘स्मल’ ‘सी’ मात्र लेखेर बाहिरिन भनेका थिए। उनले भनेअनुसार नै छोरीले परीक्षामा लेखिन्। उत्तरपुस्तिका जाँच्ने क्रममा शाहीले पछि ‘सी’ लाई ‘ए’, ‘बी’ र ‘डी’ बनाउँदै सच्याए।
नतिजा प्रकाशन हुँदा वस्तुगत परीक्षाको ५० वटै प्रश्नको उत्तर मिलेको पाइयो। अन्तिम नतिजा प्रकाशनको निर्णय गर्नुअघि उनकी छोरीको नाम १ नम्बरमा सार्वजनिक भयो। परीक्षामा अस्वभाविक अंक प्राप्त भएको देखेएपछि आशंका उब्जिएको थियो।
प्राप्ताङ्क अस्वाभाविक लागेर तत्कालीन सचिव आनन्दराज ढकालले चासो दिए। उनले उत्तरपुस्तिकामाथि पुन: छानबिन गर्न पनि निर्देशन दिए। छानबिन गर्दा परीक्षार्थी लोक सेवा आयोगको कार्यालयमै कार्यरत रहेका शाहीकी छोरी भएको पुष्टि भयो।
बाबुले नै उत्तर लेखिदिएर पास गराउन खोजेको रहस्य खुलेपछि आयोगले थप प्रमाण जुटायो। उत्तरपुस्तिका विधि विज्ञान प्रयोगशालामा अक्षर परीक्षणका लागि पठाइयो।
परीक्षणपछि उत्तरपुस्तिका सच्याएको पुष्टि भयो। भित्रि रुपमा यो छानविन चलिरहँदा शाही भने छोरीको परीक्षा परिणाम सार्वजनिक गर्न हतार गर्दै लागेका थिए।
अधिकृत शाहीले उत्तीर्ण परीक्षार्थीहरुको सूचीमा आफ्नी छोरीको नाम एक नम्बरमा राखेर अन्तिम नतिजा प्रकाशनको निर्णयको प्रस्ताव सचिव ढकालसमक्ष लगे। सचिव ढकालले त्यसअघि नै उक्त कुराको सूचना लिएर बसेकाले उक्त नतिजामा हस्ताक्षर गरेनन्। अधिकृत शाहीले छिट्टै नतिजा सार्वजनिक गर्नुपर्ने भन्दै जोडवल त गरेका थिए, तर सचिवको अगाडि उनको केही लाग्ने अवस्था थिएन।
सचिव ढकालले नतिजामा हस्ताक्षर नगरी विधि विज्ञान प्रयोगशालाको रिपोर्टअनुसार कानुन महाशाखाका प्रमुख धर्मराज कुइँकेलको नेतृत्वमा छानबिन समिति गठन गरे। उक्त समितिले अधिकृत शाहीले अनियमितता गरेको निष्कर्ष निकाल्यो। उनीमाथि आयोगले कारबाही शुरु गर्यो र उनकी छोरीको नतिजा रद्द गर्यो।
आयोगले आफूसँग भएका विवरणहरु अख्तियारलाई लेखि पठायो। अख्तियारले थप अनुसन्धान गरेर उनीमाथि भ्रष्टाचार मुद्दा दायर गर्यो। मुद्दा दायर भएको २ वर्षपछि विशेष अदालतले शाहीलाई दोषी ठहर गरेको हो।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० १४:२४
श्रोत: नेपाल लाइभ
