१७ जेठ, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन्।  अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन्।

नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको मिति २०८०।०२।१२ को निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मिति २०८०।०२।१२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको म.बै. ३२१/६९७४ को पत्रबाट लेखी आएकोमा नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेत बमोजिम विधेयक प्रमाणिकरण गरेका हुन्।

संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएपछि विधेयकमा चित्त नबुझेको भन्दै उनले ८ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाएकी थिइन् ।

पुन: संघीय संसदको दुवै सदनले दोस्रो पटक विधेयक जस्ताको त्यस्तै पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भएता पनि तत्कालीन राष्ट्रपति भण्डारीले थन्क्याइदिएकी थिइन् । त्यही विधेयक हाल ९ महिनापछि प्रमाणीकरण भएको हो ।

२०७९ सालको संघीय संसद प्रतिनिधि सभाको निर्वाचन पश्चात गठन भएको नयाँ संसद्लाई नागरिकता विधेयकमा निर्णय गर्न नदिएर सरकारले पुरानै विधेयकलाई नयाँ राष्ट्रपतिबाट प्रमाणीकरण गराउन चाहेको थियो । नयाँ सरकारले राष्ट्रपति पौडेललाई पहिलेकै विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थियो।

राष्ट्रपति पौडेलले एक पटक अस्वीकृत भइसकेको विधेयकबारे संवैधानिक प्रबन्ध प्रस्ट नभएकाले यथास्थितिमा जारी गर्न सकिने वा नसकिने भनी महान्यायाधीवक्तालगायतका कानून विदसँग परामर्श गरेको थियो। ती कानून विदहरुले प्रमाणिकरण गर्न सकिने सुझाव दिएका थिए।

विधेयकका मुख्य विषय नेपालको संविधानको धारा ११(३) र (४) लाई समेटिएको छ, उपधारा (३) ले ” यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।” भने उपधारा (५) ले  “नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ ।” भन्ने संवैधानिक व्यवस्थालाई सम्बोधन गरेको छ।

त्यसैगरी विधेयकमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमाको पत्ता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मान्ने, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले नेपाली नागरिकता लिँदाका बखत निजको आमा र बाबु दुवै नेपाली नागरिक रहेमा त्यस्तो व्यक्तिले वंशजका आधारमा नागरिकता पाउने व्यवस्था गरेको छ।