1. जेष्ठ १, काठमाडौँ

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतका सूचना अधिकारी दीपक दाहालले अनुसन्धानका लागि रायमाझीलाई तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको बताए ।

रायमाझीलाई आइतबार साँझ प्रहरीले काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट पक्राउ गरेको थियो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए ।

अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार थिए । प्रहरीले खोजी गरिरहँदा बुधबार रायमाझीले संसद् सचिवालयलाई आफू बिरामी भएको पत्र पठाएका थिए । सोही साँझ उनका छोरा सन्दीपलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्व गृहमन्त्री, पुर्व गृह सचीव तथा रायमाझीलगायत १३ जना पक्राउ परिसकेका छन् ।