
बैशाख २२ । काठमाडौँ
काभ्रेका अजित मिजार मृत्यु प्रकरण पुनः अदालत पुगेको छ। अजितको हत्या आरोप लागेका व्यक्तिलाई सफाई हुनेगरि उच्च अदालत पाटनले गरेको फैसला दोहोर्याएर हेर्न माग गर्दै उनका बुबा हरिभक्त ढकालले सर्वोच्च अदालतमा निवेदन दिएका हुन्।
सर्वोच्चले जेठ २१ गते साधारण तारेख तोकेको ढकालकि वकिल अधिवक्ता यमकुमारी ददेलले जानकारी दिइन्।
सात वर्षअघि २०७३ असार ३० गते काभ्रेको पाँचखाल नगरपालिका–६ होक्सेका १८ वर्षीय अजित मिजार धादिङको परेवाटारमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।
साउन १ गतेसम्म पनि शवको सनाखत नभएपछि प्रहरीले तत्कालीन कुम्पुर गाविसको अनुमति लिई अजितको शव पोष्टमर्टम गरी शव गाडेको भन्ने जानकारी पाएपछि अजितका परिवार धादिङ पुगेका थिए।
शवको अन्त्यष्टिका लागि उत्खनन् गर्दा पोस्टमर्टम नभएको भेटिएपछि अजितको हत्या भएको आशंका गरिएको थियो।
अजित स्थानीय पराजुली थरकी महिलासँग प्रेम सम्बन्धमा थिए। उनले २०७३ असार २५ गते अन्तरजातीय प्रेम विवाह गरेका थिए।
विवाहपछि समाजको डरले अजित आफ्नी श्रीमतीलाई लिएर भक्तपुरस्थित दिदीको घर गएर बसेका थिए।
केटीपक्षबाट लगातार ज्यान मार्ने धम्की आएपछि अजितका बुवा हरिभक्त असार २७ गते प्रहरी कार्यालय पुगेका थिए।
प्रहरीले विवाहका लागि केटा र केटी दुबैको उमेर नपुग्ने बताएपछि उनीहरुलाई घर फर्काउने सहमति भएको थियो। घर फर्काउने सहमति भएको तीन दिनपछि अजित धादिङमा मृत फेला परेका थिए।
हरिभक्तले केटी पक्षले आफ्नो छोरा अजितको हत्या गरेको भन्दै युवतीका बाबुसहित तीनजनाविरूद्ध किटानी जाहेरी दिएका थिए।
जाहेरी दिएको एक महिनापछि भदौ २० गते प्रहरीले उनीहरूलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दा चलाइएको थियो।
जिल्ला अदालत धादिङले असोज ५ गते दुई जनालाई २५–२५ हजार धरौटीमा रिहा गर्न आदेश गरेको थियो। युवतीका बाबु पनि पुस २८ गते धरौटीमा रिहा भएका थिए।
२०७५ जेठ मा जिल्ला अदालत धादिङले प्रतिवादीलाई सफाइ दिएको थियो। अजितका परिवारले धादिङ जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए। ०७९ वैशाख १२ गते उच्चले पनि जिल्लाकै आदेश सदर गरिदिएपछि ढकाल सर्वोच्च पुगेका हुन्।
अजित मिजारको शव २०७३ देखि त्रिवि शिक्षण अस्पतालमै छ। न्याय नपाएसम्म शव नबुझ्ने उनका परिवारले बताउँदै आएका छन्।
सेतोपाटीबाट साभार
