
बैशाख २१, काठमाडौँ
घरसारमा भएको केही स्वेच्छाचारी प्रकृतिको लेनदेनलाई कसूर कायम गरेको छ। बिना लेनदेन लिखत तयार गर्ने, वास्तविक रकमभन्दा बढी लिखत तयार गर्ने, व्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने, रिणीले तिरे बुझाएको रकमको भरपाई नदिने वा लिखत नबनाउने, साँवाभन्दा बढी ब्याज लिने लगायतका कार्यलाई अनुचित लेनदेनको रुपमा परिभाषित गरेको छ।
अनुचित लेनदेन सम्बन्धी कार्यलाई कसूर कायम गर्न अध्यादेश
राष्ट्रपति रामचन्द्र पौडेलले अनुचित लेनदेन सम्बन्धी कार्यलाई कसूर कायम गर्न अध्यादेश जारी गरेका छन्। मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन ।
बैशाख २० बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेका अध्यादेश खण्ड ७३) काठमाडौं, वैशाख २० गते, २०८० साल (अतिरिक्ताङ्ग २) राजपत्रमा प्रकाशित गरिएको छ।
अनुचित लेनदेन सम्बन्धी कार्यलाई कसूर कायम गर्नको लागि मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले भन्दै सरकारले अध्यादेश ल्याएको हो।
यो अध्यादेशले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ पछि देहायको दफा २४९क. थप संशोधन गरेको छ। यो अध्यादेश तुरून्त प्रारम्भ बैशाख २० गतेदेखि नै लागू भइ सकेको छ।
कुन कुन कार्य अनुचित लेनदेन हो ?
दफा “२४९क. कसैले अनुचित लेनदेन गर्न वा गराउन हुँदैन भनेको भने घरसारमा भएको निम्न कामलाई अनुचित लेनदेन मानेको छ।
(क) लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने,
(ख) लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने,
(ग) लेनदेन गर्दाको बखतमा व्याज रकम समेत साँवामा जोडी लिखत तयार गर्ने,
(घ) ब्याजलाई साँवामा जोडी नयाँ लिखत तयार गर्ने,
(ङ) ऋणीले तिरे बुझाएको रकमको भरपाई नदिने वा लिखत नबनाउने,
(च) ऋणको साँवाभन्दा बढी ब्याज लिने,
(छ) ऋणी असुलीको लागि कुनै प्रकारको धम्की दिने वा हिंसा वा शोषण गर्ने,
(ज) अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने ।
यसको साथै, यो अध्यादेश लागु हुनुअघि भएको लेनदेनको कारोबारको आधारमा कसैले ऋणीलाई माथि उल्लेखित काम गर्न, गराउन वा अनुचित लेनदेनको रकम असुल उपर गर्न ऋणीलाई हैरानी पुर्याएमा पनि कसूर मानेको छ।
के सजाय हुन्छ ?
- अनुचित लेनदेनको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना हुनेछ।
- अनुचित लेनदेनको कसूर गर्ने कसूरदारले त्यस्तो लेनदेनको आधारमा ऋणीबाट रकम वा कुनै अन्य चल सम्पत्ति लिएको रहेछ भने सम्बन्धित ऋणीलाई त्यस्तो रकम वा चलसम्पत्ति बराबरको रकम कसूरदारबाट भराइदिनु पर्नेछ।
अनुचित लेनदेनको आधारमा लिएको अचलसम्पत्ति बदर हुने
- अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण भएको ठहर भएमा त्यस्तो हक हस्तान्तरण बदर हुनेछ।
लिखत पुर्याउनु पर्ने थप कार्यविधि
मुलुकी देवानी संहिता, २०७४ को दफा ४७७ को खण्ड (ज) पछि देहायको खण्ड (ज१) थप गर्दै लिखतमा पुर्याउनु पर्ने थप कार्यविधि तोकेको छ।
- “(ज१) लिखत तयार गर्दाका बखत साहु र ऋणीको कम्तीमा एक एक जना साक्षीको नाम, थर र ठेगाना,” उल्लेख गर्नु पर्ने छ। त्यस्तो उल्लेख नभएको अवस्थामा उक्त लिखतको बैधानिकता प्रश्न उठाउन सकिन्छ।
त्यसैगरी दफा ४८८ को अन्त्यमा देहायको प्रतिबन्धात्मक वाक्यांश थप गर्दै “तर एक लाख रुपैयाँभन्दा बढीको लेनदेन कारोबार नगदै वा घरसारमा गरेको अवस्था भएमा त्यस्तो रकम भराई दिइने छैन।” भनी उल्लेख गरेको छ।
सबै कारोबार बैंक मार्फत
मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ३६ ले विनिमेय अधिकारपत्र मार्फत वा बैङ्क तथा वित्तीय संस्थासँग कारोबार गर्ने उल्लेख गरेको छ।
पहिलाको लेनदेन लिखत छ (६) महिनाभित्र प्रमाणित गराउनु पर्ने
- स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयबाट प्रमाणित नगराइएका लेनदेन कारोबारका लिखतहरु यो उपदफा प्रारम्भ भएको मितिले छ महिनाभित्र प्रमाणित गराउनु पर्नेछ।
- लेनदेन कारोबारको लिखत प्रमाणित गर्नु अघि सम्बन्धित स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयले त्यस्तो लिखत आधिकारिकता मुद्वण विभागबाट प्रमाणित गरिएपछि मात्र लाग् हनेछ।
- सम्बन्धित स्थानीय तह वा स्थानीय तहको वडा समितिको कार्यालयले लिखत दर्ता गरेको अभिलेख राख्नु पर्नेछ।
अनुसन्धान अधिकारीले अनुचित लेनदेन गरेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर हुने
फौजदारी कार्यविधि संहिता, २०७४ मा दफा ३०क. थप गरी
अनुसन्धान अधिकारीले अनुचित लेनदेन गरेमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा कारबाही हुनेछ।
कसूरमा अनुसन्धान गर्दा साहुले अस्वभाविक रुपमा ठूलो रकम घरसारमा ऋण दिएको देखिएमा प्रचलित कानून बमोजिम सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गरी कारबाही चलाइनेछ।
अनुचित लेनदेनलाई पनि सर्वसाधारणको ठगी सरह मानेको छ।
अध्यादेशको पुर्णपाठ
