२० वैशाख, काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएको थियो। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेको गिरोहसँग मिलेमतो गरेको भन्दै उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो ।

बैशाख २० बुधबार उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा हाजिर भएका थिए। तत्लकालै  प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतमा न्यायिक हिरासतको अनुमतीको माग गर्दै उपस्थित गराएको थियो ।

यसअघि २०७९ चैत्र १२ गते नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरु पक्राउ परेको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए ।

त्यही काममा तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको पनि संलग्नता देखिएको भनी प्रहरीको दाबी छ । राईलाई प्रहरीले मंगलबार ललितपुरस्थित निवासबाट पक्राउ परी हाल उनी जिल्ला प्रहरी परिसर, टेकुको हिरासतमा छन् ।