बैशाख २०, काठमाडौं ।

आयोगको २०८० बैशाख १४ गतेको निर्णय अनुसार लोक सेवा आयोग केन्द्रिय कार्यालयले २०७९ सालको मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा आवेदन दिएका आवेदकको डाटा हराएपछि पुन: दरखास्त आह्वान गरेको छ।

आयोगले शाखा अधिकृत वा सो सरह (अप्राविधिक) तथा नायव सुब्बा वा सो सरह (अप्राविधिक/प्राविधिक) पदका लागि प्रकाशित विज्ञापनहरुमा पुन: दरखास्त आह्वान गरेको हो।  लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होष्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी)मा अवस्थित पूर्वाधारमा २०७९ फाल्गुन २३ गते समस्या सिर्जना भएको थियो डाटा सेन्टरमा देखिएको समस्याका कारण लोक सेवाको विज्ञापनमा आवेदन दिएकाहरुको डाटा समेत हराएको थियो।

सरकारी एकीकृत डाटा सेन्टरबाट डाटा रिकभर (पुनर्प्राप्ती)को काम भइरहेको, तर प्रक्रिया कहिलेसम्म पूरा हुने र के कति डाटाहरु रिकभर हुने सम्बन्धमा यकिन गर्न नसकिएकाले पुन: दरखास्त आह्वान गरिएको आयोगले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।

आयोगका अनुसार गत मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनमा दरखास्त दिइ परीक्षा दस्तुर बुझाइ दरखास्त स्वीकृत भएका र स्वीकृत हुन बाँकी उम्मेदवारले मात्रै पुन: दरखास्त दिन पाउनेछन्। पुन: दरखास्त दिँदा शुल्क तिर्नु पर्ने छैन। सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुन: दरखास्त पेस गरिसक्नुपर्ने आयोगले जनाएको छ।