चैत ७, २०७९
के तपाईंलाई थाहा छ- सामाजिक सञ्जाल चलाएकै कारण तपाईं जेलसम्म जान सक्नुहुन्छ भनेर? हो पक्कै पनि, यदि तपाईंले सामाजिक सञ्जालको गलत प्रयोग गर्नुभयो भने तपाईंलाई साइबर अपराध लाग्न सक्छ। सामाजिक सञ्जालमा कसैको चरित्र हत्या हुने किसिमले पोस्ट गरेमा वा कसैलाई धम्की दिएर वा ललाइफकाइ गरेर ठगी गरेमा साइबर अपराध लाग्न सक्छ। यस्ता अन्य थुप्रै परिस्थिति छन् जुन अवस्थामा साइबर अपराध लाग्न सक्छ। सबैभन्दा सुरुमा बुझौँ साइबर अपराध भनेको के हो?

साइबर अपराध भनेको के हो?

सामान्यत: कम्प्युटर, मोबाइल, इन्टरनेट वा सामाजिक सञ्जालको प्रयोग गरी गरिने अपराध नै साइबर अपराध रहेको साइबर ब्यूरोका प्रवक्ता एसपी पशुपतिकुमार राय बताउँछन्। ‘परम्परागत रूपमा नै हुँदै आएका अपराधहरू तर जुनचाहिँ सामाजिक सञ्जालको माध्यमबाट गरिन्छ भने त्यसलाई पनि साइबर अपराधको रूपमा बुझ्न सकिन्छ’, उनी भन्छन्।

एसपी रायका अनुसार साइबर अपराधलाई पनि दुई तरिकाले बुझ्न जरुरी छ। पहिलो परम्परागत रूपमा नै हुँदै आएका अपराधलाई सामाजिक सञ्जाल वा अन्य कुनै साइबर माध्यमसँग जोडेर गरिन्छ भने त्यो पनि साइबर अपराध अन्तर्गत नै पर्छ। र अर्को भनेको विशुद्ध साइबर अपराध जुन आइसिटीको सूचना, सञ्चार वा टेक्नाेलाेजीबिना गर्न सकिँदैन। क्रिप्टाे, ह्याकिङ यसअन्तर्गत पर्दछन्। अपराधका क्रममा यी दुवै पनि हुनसक्ने एसपी रायकाे भनाइ छ।

कस्ता-कस्ता क्रियाकलाप गरे साइबर अपराध हुन सक्छ?

विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका अपराधिक कार्यलाई साइबर अपराधका रूपमा परिभाषित गरिएको छ। तर अनलाइनमार्फत् हुने सबै घटनाहरू भने साइबर अपराध होइनन्।

इन्टरनेटको प्रयोगमार्फत् गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट फ्रड (धोकाधडी), अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिक कसूर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्‍याइने क्षतिलगायत अवैधानिक कार्य साइबर अपराध मानिन्छ।

त्यस्तै, फेक आइडी बनाउने, सामाजिक सञ्जाल प्रयोग गरी गाली गर्ने, वेभसाइट ह्याक गर्ने, फोटो एडिट गरी स्वरूप परिर्वतन गर्ने, अश्लील फोटो/भिडियो पठाउने, सञ्जालमार्फत् जिस्काउने, अपमान गर्ने, कल बाइपास,गैह्रकानुनी इमेल,एसएमएस, धम्की दिने आदि जस्ता सबै कार्यलाई पनि साइबर अपराध मानिन्छ।

कुन कानुन अनुसार कारबाही हुन्छ?

नेपालमा हालसम्म साइबर अपराधसम्बन्धी छुट्टै कानुन छैन। साइबर अपराधसम्बन्धी कानुन नभएकै कारण नेपाल प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ मार्फत् काम गरिरहेको छ। जुन साइबर अपराधकै लागि बनेको भने होइन। विद्युतीय कारोबार ऐन विद्युतीय तथ्यांक आदानप्रदानको माध्यमबाट वा विद्युतीय सञ्चारमाध्यमबाट हुने कारोबारलाई नियमित र व्यवस्थित गर्न आएकाले यसमा साइबर अपराधलाई परिभाषित गरिएको पाइँदैन।

प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ को परिछेद ९ को दफा ४४, ४५, ४६ र ४७ लाई टेकेर मुद्दा चलाउने गरेको छ। यसमा कुनै पनि सिस्टममा अनधिकृत रूपमा पहुँच बनाएमा अथवा कुनै पनि कम्प्युटर सिस्टम नेटवर्कहरूलाई बिगारी दिने भत्काइदिने वा क्षति पुर्‍याउने, त्यस्तै दफा ४७ अन्तर्गत अनलाइनमार्फत् प्रचलित कानुनले प्रतिबन्ध लगाएका क्रियाकलापहरू गरेमा त्यसलाई साइबर अपराध मानिने छ।

के अनलाइनमा भएका सबै अपराध साइबर अपराध हुन्?

अनलाइनमा भएका सबै अपराध साइबर अपराध होइनन्। यदि कसैले व्यक्तिगत गोपनीयता भंग हुने गरी क्रियाकलापहरू गरेको छ भने त्यस्ता घटनाहरूबारे भने सिधै अदालतमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था छ। त्यस्तै, गाली बेइज्जतीसम्बन्धी कसूरलाई पनि साइबर अपराधको रूपमा परिभाषित गरिएको छैन।

फौजदारी अपराध संहिता, २०७४ को भाग ३ मा वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसुरअन्तर्गत गोपनीयताविरुद्धका कसुर र गाली बेइज्जतीसम्बन्धी कसुर उल्लेख गरी दफा ३०७ मा विद्युतीय माध्यमबाट गाली बेइज्जती गरेमा पनि सजाय हुने व्यवस्था गरेको छ। दफा ३०५ मा गाली गर्न नहुने, दफा ३०६ मा बेइज्जती गर्न नहुने र ३०७ मा बेइज्जती गरे कसुर हुने व्यवस्था उल्लेख छ।

एसपी रायका अनुसार गाली बेइज्जतीसम्बन्धी कसूरमा भने साइबर अपराध अन्तर्गतको कसुरका लागि निवेदन दिनु पर्ने छैन। यसका लागि छुट्टै कानुनी व्यवस्था छ।

सजाय कति हुन्छ?

साइबर अपराधको लागि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत रहेका सजाय गर्ने भएकाले यसमा उल्लेख भएअनुसार कसूरदातालाई बढीमा ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ। तर यदि कसुरदाताले एकभन्दा धेरै कसुर गरेको खण्डमा भने कानुनमा उल्लेख भए अनुसारका अन्य कसुरहरू पनि थप हुने व्यवस्था छ।

विद्युतीय माध्यमबाट हुने अपराधहरू पनि भिन्नभिन्न किसिमले हुने भएकाले कानुनमा उल्लेख भएअनुसार छुट्टाछुट्टै कसुर हुने व्यवस्था छ। यदि कसैले एउटै अपराध गर्नको लागि विभिन्न कसूर गरेको छ भने त्यसअन्तर्गत छुट्टाछुट्टै कसूर थप हुने व्यवस्था छ। मानौँ- एउटा व्यक्तिले अनलाइनकाे प्रयोग गरेर कसैलाई ठगी गरेको छ र कुनै व्यक्तिको व्यक्तिगत गोपनीयता समेत भंग गरेको छ भने यस्तो अवस्थामा उसलाई विद्युतीय कारोबारसम्बन्धी, ठगी कसूर र व्यक्तिगत गोपनीयता भंग गर्न नहुने सम्बन्धी छुट्टाछुट्टै कसूर लाग्न सक्छ, अथवा बैंकिङ कसूर गरेको छ भने त्यो पनि थप हुन्छ। कसुरदाताले गरेको अपराधको आधारमा सजाय हुने छ।

कहाँ र कसरी उजुरी दिने?

साइबर अपराधबारे नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीमा पीडित स्वंय पुगेर वा अन्य कुनै व्यक्तिले पीडितमाथि भएको अपराधबारे खुल्ने किसिमका प्रमाणहरू साथै लिएर उजुरी दिन सकिन्छ। काठमाडौँ बाहिरका अन्य व्यक्तिहरूले भने नजिकैको सम्बन्धित प्रहरी कार्यालयमा गएर उजुरी दिन सकिनेछ। त्यस्तै, अनलाइन प्लेटफर्म इमेल वा सामाजिक सञ्जालमार्फत् पनि उजुरी दिन सकिन्छ। उजुरी दिनको लागि साइबर ब्यूरोको इमेल cyberbureau@nepalpolice.gov.np मा इमेल गरी उजुरी गर्न सकिन्छ। यसरी उजुरी गर्दा आफ्नाे निवेदन, आफ्नो परिचय पत्र (नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स आदि) र के अपराध भएको हो सोबारे जानकारी गराइ उजुरी गर्न सकिन्छ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ऐनले थाहा पाएको दिनदेखि ३५ दिन भित्र उजुरी गरिसक्नुपर्छ भनेको छ।