काठमाण्डौ ।

उच्च अदालत दिपायलले जातीय छुवाछुत तथा भेदभाव गर्ने कसुरदारलाई सजाय गर्ने फैसला गरेको छ । गत सोमबार माघ १० गते उच्च अदालत दिपायलका कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको संयुक्त इजलासले मान बहादुर ओली र कृते सिंह ओलीलाई जिल्ला अदालत डोटीबाट सफाई पाउने ठहरी भएको फैसला उल्टी गदै सजाय गर्ने फैसला गरेको हो ।

जातीय विभेद तथा छुवाछूत कसूरमा डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका वडा-२ बस्ने मानबहादुर ओली, कृते सिह ओली सेमतलाई उच्च अदालत दिपायलले जनही ५० हजार रुपैयाँ जरिवाना र छ महिना कैद गरेको छ भने पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति समेत भराएको छ

त्यसैगरी विक्रम ओलीलाई मात्र कसूरदार ठहराई निजको हकमा ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना गर्नुको साथै पीडितलाई २० हजार रुपैयाँ क्षतिपूर्ति भराई दिने गरी फैसला भएको थियो । कैदको हकमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ को सुविधा दिने गरी फैसला मै सुविधा दिएको थियो ।

२०७७ फाल्गुन २५ गते छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार सम्बन्धी कसूरमा पुनरावेदन (फौ.पु.नं. ०७७-CS-०३७०) दायर भएको  थियो । २०७८।१०।१० मा उच्च अदालतबाट जनही रु ५०,०००।– जरिवाना र ६ महिना कैद साथै पीडितलाई २ लाख क्षतिपूर्ति समेत भराउने गरी पुनरावेदनको रोहमा फैसला भएको हो ।

२०७७।८।१७ मा पुर्वीचौकी गाउँपालिका वडा – २ डोटीमा कृते ओलीको छोरा मान बहादुर ओलीको विवाहमा टिका सिंह नेपाली समेत गरी ७ जना बाजा बजाउन गएको अवस्थामा जातीय विभेद भएको थियो । ती प्रतिवादीहरुले पुर्वीचौकी गाउँपालिका वडा- २ धनाडी खालीगडा स्थितमा पीडित जाहेरवालाहरु टिकासिंह नेपाली, गम्भिर दमाई, साइले दमाई, चनर दमाई, शंकर दमाई र अंक दमाई समेतका व्यक्तिहरुले डुम भनी गाली गलौज गरी जातीय अवहेलना हुने गरी हेप्ने तथा भेदभाव गर्नुका थिए ।

साथै जन्तमा बजाउन लगेका बाजाहरु तोडफोड गरेको हुँदा प्रतिवादीहरु कृते सिंह ओली, मान बहादुर ओली र विक्रम ओलीलाई कानून बमोजिम कारवाही गरी पाउँ भनी मिति २०७७।८।१९ गते जाहेरी दरखास्त परेको थियो ।

यी प्रतिवादीहरुले जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ (२) को कसूरमा सोही ऐनको दफा ७ (१) बमोजिम जनही रु ५०,०००।– जरिवाना र ६ महिना कैद र पीडितलाई २ लाख क्षतिपूर्ति सजाय गरेको छ।