
माघ ३, जनकपुर । प्रदेश नं. २ धेरै समयको पर्खाइ र बहसपछि प्रदेश सभाले नाम र राजधानी निर्धारण गरेको छ। प्रदेशको नाम “मधेश” र राजधानी “जनकपुर” तय गरेको छ। सोमबार बसेको प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानरी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पास गरेको हो ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)को साथै सत्ता साझेदार माओवादी केन्द्र र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो । यसको साथै अरु दलका १६ सांसदले पनि प्रदेशको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
कांग्रेसले प्रदेशको नाम ‘मिथिला भोजपुरा’, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले ‘जानकी’ तथा कांग्रेसकै सांसद राजेश्वर साहले ‘मध्य मधेश’ नाम प्रस्ताव गरेका थिए । यी सबै नाम अस्वीकृत भएको छ।
त्यसैगरी स्थायी राजधानी जनकपुरको हकमा प्रदेश सभाको पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।
प्रदेश २ को राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि शुरुमा ७ वटा प्रस्ताव गरेको थियो । पछि त्यसलाई परिमार्जन गरी तीन वटा बनाएको थियो, जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।
स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सिमाना कायम हुने भएको छ ।
यसअघि ३ चैत २०७६ मा प्रदेश सभाको बैठकमा भएको मतदानले प्रदेशको नामकरण हुन सकेको थिएन ।
